इटहरीः जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको शुक्रबार जिल्ला अदालतमा बयान लिने क्रममा अदालत परिसरबाहिर उनको पक्ष र विपक्षमा प्रदर्शन गरिएको छ । बिहीबार सुनसरी जिल्ला अदालतमा अभियोग–पत्र दर्ता गरिएपछि शुक्रबार गिरीको बयान लिइएको थियो ।

भित्र बयान चलिरहँदा अदालत परिसरबाहिर गिरीलाई कारबाहीको माग राखेर उजुरी दिने महिला पक्षका महिला अधिकारकर्मीले कडा कारबाहीको माग गर्दै प्रदर्शन गरे भने चतरा आश्रमबाट आएका गिरी पक्षधरहरुले गिरीको निःशर्त रिहाइको माग गर्दै प्रदर्शन गरे ।

बिहान ११ बजेतिर भेला भएका दुवै पक्षले आमने–सामुन्ने भएर प्रदर्शन गरेका थिए ।


। गिरी पक्षले धार्मिक ढंगले सिद्धबाबा निर्दोष रहेको जनाउँदै प्रदर्शन गरेका थिए भने अधिकारकर्मीले गिरीको विपक्षमा प्ले कार्ड प्रदर्शन र नाराबाजी गरेका थिए ।

बाहिर भइरहेको होहल्ला र प्रदर्शनको अदालतको कामलाई आंशिक रुपमा प्रभावित पारेको थियो । होहल्लायुक्त वातावरणका बीचमा बयान दिएका गिरी बयान सकिएपछि दिउँसो साढे तीन बजेतिर मात्र बाहिरिएका थिए । संगठित रुपमा दुवै पक्षबाट भएको प्रदर्शनका क्रममा रमितेको भिड लागेको थियो । अदालत प्रवेशको गेटबाहिर उत्तरपट्टि गिरी पक्ष र दक्षिणपट्टि महिला पक्षले प्रदर्शन गरेका थिए । रमितेको समूह भने सडकभन्दा पश्चिमपट्टि भेला भएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।


प्रकाशित मितिः शनिबार, पुस १२, ०७:४३