काठमाडौं:  सरकारले राष्ट्रपति विद्या भण्डारीले एक महिनाअघि जारी गरेका चार अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेस गर्न आलटाल गरिरहेको छ ।

विभिन्न समूहको स्वार्थ पूरा गर्ने गरी विधेयक मस्यौदा बनाउन खोज्दा ढिलाइ भएको सरोकारवालाले आरोप लगाएका छन् । संसदको दोस्रो अधिवेशनको पहिलो दिन वैशाख २३ मा चार अध्यादेश पेस भएका थिए । यसअघि पनि प्रतिस्थापन विधेयक बेलैमा पेस नगर्दा निष्क्रिय हुने अवस्था आएपछि सरकारले पुन: अध्यादेश ल्याएको थियो ।

सम्बन्धित मन्त्रालयले प्रतिस्थापन विधेयक मस्यौदाको कानुन मन्त्रालयबाट सहमतिसमेत लिइसकेको छैन । सरकारी ढिलासुस्ती र बेवास्ताले अध्यादेश निष्क्रिय हुने सम्भावना बढेको छ ।


‘बेलैमा नल्याउने हो भने प्रमाणीकरणसम्मको प्रक्रिया पूरा नभएर विधेयक निष्क्रिय हुन सक्छ,’ संसद् सचिवालयका एक कर्मचारीले भने । असार १९ भित्र चारै अध्यादेशको प्रतिस्थापन विधेयक प्रमाणीकरण भइसक्नुपर्ने हुन्छ । शिक्षामन्त्री गिरिराजमणि पोखरलले प्रतिस्थापन विधेयकबारे छलफल भइरहेको बताए । ‘चाँडै पेस गर्छौं,’ उनले भने । कान्तिपुर दैनिकमा समाचार छ ।