काठमाडौं: नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीको अवस्था र उनलाई भेट्न आफ्ना ३ सांसदलाई पठाउने भएको छ ।

नेपाली कांग्रेसको आज (बुधबार) बसेको संसदीय दलको बैठकले डा. केसीको अवलोकन गर्न तीन सांसदलाई बिहीबार विहान पठाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार, सांसदहरु रंगमती शाही, प्रकाश रसायली र दिनबन्धु श्रेष्ठलाई जुम्ला पठाउन लागिएको हो । जुम्ला पुग्ने ती सांसदहरुले डा. केसीको अनसनलाई ऐक्यवद्धता जनाउने र उनको स्वास्थ्य अवस्था बुझ्ने पनि खाँडले जनाए ।

त्यस्तै छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनमा रहेकी गंगामाया अधिकारीको अवस्था बुझ्न तीन सांसदलाई खटाएको जनाइएको छ ।


खाँडका अनुसार सांसदहरु वेद तिमल्सिना, पार्वता डिसी चौधरी र अमरेशकुमार सिंहले दिउँसो ३ बजे गंगामायालाई भेट्नेछन् ।