काठमाडौंः पछिल्लो दुई साता यता बजारमा खाने पकाउने ग्याँसको अभाव हुन थालेको छ । कोरोना भाइरसको त्रासका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्याँस भरेर राख्न थालेपछि बजारमा ग्याँस अभाव हुन थालेको हो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले उपभोक्ताले आवश्यकताभन्दा बढी खाली सिलिन्डर भर्न थालेपछि नेपाल ग्याँस आपूर्तिमा समस्या देखिएको बताए । बजारमा नेपाल ग्याँस प्रयोग गर्ने उपभोक्ता धेरै हुँदा एकपटक माग बढेपछि नेपाल ग्याँसलाई मागअनुसार आपूर्ति गर्न केही समस्या भएको पौडेलले बताए ।

पौडेलले भने, ‘बाहिरबाट ग्याँस आयातमा कुनै समस्या छैन् ।


। आउनुपर्ने ग्याँस आई नै रहेको छ । १० दिनमा मात्र साढे १६ हजार मेट्रिक टन ग्याँस आयात भएको छ । हामीले बजार ग्याँस सहज रूपमा आपूर्ति होस् भन्ने उद्देश्यले मासिक ३८ हजार मेट्रिक टन आयात हुँदै आएको ग्याँसको कोटा बढाएर ४५ हजार मेट्रिक टनका दरले आपूर्ति हुने व्यवस्था गरेका छौं । नेपाल ग्याँसबाहेक अन्य ग्याँस कम्पनीले आपूर्ति गर्दै आएको ग्याँस अभाव समस्या आएको छैन ।’

उपभोक्ताले ग्याँस नपाएर खाना पकाएर खान पाउँदैन किन भनेर आत्तिनुपर्दैन । बजारमा पर्याप्त मात्रामा ग्याँस आपूर्ति भइरहेको छ । उपभोक्ताले आफैं सचेत भएर आवश्यकताभन्दा बढी ग्याँस घरमा नराख्ने हो भने अहिले बजार देखिएको समस्या दुई दिनमै समाधान हुने उनको दाबी छ । हल्लाको भरमा अनावश्यक ग्याँस सिलिन्डर खरिद गरी राख्ने प्रवृतिले यस्ता समस्या आउने गरेको निर्देशक पौडेलको भनाइ छ । यो समाचार आजको राजधानी मा छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन ३०, ०७:४४