काठमाडौंः सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले श्रम स्वीकृति दिन अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको जनाएको हो । सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई पनि ३० अप्रिल अर्थात् वैशाख १२ गतेभन्दा अगाडि ‘नो अब्जेक्सन सर्टिफिकेट’ नदिने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।


। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको मुख्य गन्तव्य मानिएका खाडी मुलुकमा पनि अहिले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले तत्कालका लागि श्रमस्वीकृति स्थगित गरिएको जानकारी दिए ।

उनले वैदेशिक रोजगार विभागअन्तर्गत श्रम कार्यालयबाट अन्तिम र पुनः श्रम स्वीकृतिका काम सरकारको अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको पनि जानकारी दिए । महानिर्देशक दाहालका अनुसार श्रम कार्यालयबाट पूर्व श्रम स्वीकृति दिने र अन्य नियमित काम भने नरोकिँदैन । दैनिक एक हजार जनाले श्रम स्वीकृति लिएर विदेशिने गरेकोमा कतारले रोकेसँगै दुई सयमा झरेको थियो । सांकेतिक रुपमा धेरै देशबाट श्रमिकको माग आउन छोडिसकेको थियो ।

कोरोना भाइरसबाट बच्नका लागि अन्य देशले पनि आवश्यक सतर्कताअनुरूप अन्तर्राष्ट्रिय हवाई उडान र आवतजावतमा प्रतिबन्ध लगाएका छन् । बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेको थियो । यो समाचार आजको गोरखापत्र मा छ ।


प्रकाशित मितिः शनिबार, चैत १, ०८:०३