भक्तपुरः भक्तपुर नगरपालिकाले आज च्याम्हासिंहदेखि जगाती सम्मका मासुपसलहरुमा अनुगमन गरेको छ ।

बजार अनुगमन समितिका संयोजकको संयोजकत्वमा गरिएको अनुगमनमा गर्दा आठवटा मासुपसल अवैध रुपमा सञ्चालन भएको पाइएको हो।

अधिकांश मासु पसलमा खसी, कुखुरा र राँगाको मासु छुट्टाछट्टै नराखेको, मासु यत्रतत्र छरिएको, झिंगा भन्किएको, ढक तराजु दुरुस्त नराखिएको, मासुसँगै दाना राखिएको, मूल्य सूची नराखिएको र अव्यवस्थित भेटिएको हो।

अनुगमनका क्रममा समितिले प्रदीप शाहीको मासुपसल, एसएण्ड एसफ्रेस मिट शप, न्यू भक्तपुर कोल्ड स्टोर, केजी कोल्ड स्टोर, भक्तपुर चिकेन हाउसलाई तीन दिनभित्र पसल दर्ता गर्न र ख्वप कोल्ड स्टोर तथा न्यू माँ भगवती फ्रेस मिट हाउसलाई नवीकरण गर्न निर्देशन दिएको छ।


समितिले फुटपाथमा मासुजन्य सामान नराख्न, मासु जालीले छोप्न, सेतो एप्रोन लगाउन, मूल्यसूची राख्न, ढक तराजु नापतौल कार्यालयमा नवीकरण गराउन, भित्ता सफा गर्न मिल्ने गरी कार्पेट राख्न, मासु छट्टा छट्टै राखेर बिक्री गर्न अनुगमन समितिले निर्देशन दिएको छ ।