काठमाडौंः कोरोनो भाइरसको त्रास देखाएर बजारमा व्यापारीको लापरबाही बढेपछि उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पको अनुगमन गरेका छन् । बुधबार बिहान मन्त्रीले पम्प अनुगमन गरेपछि दिउँसो पेट्रोल पम्पमा लाइन न्यून देखिएको छ । उपत्यकाका सबै पम्पले पेट्रोलियम पदार्थ बिक्री गरेपछि उपभोक्ता लामो लाइन बस्नु परेन ।

बुधबार सामान्य लाइन भएको र लामो लाइन हटिसकेको नेपाल आयल निगमले जनाएको छ । बिहीबार पूर्ण रुपमै लाइन हट्ने निगमको दाबी छ । गएको आइतबारदेखि पम्पहरुमा पेट्रोल र डिजेल भर्नेको लामो लाइन देखिएको थियो तर बुधबार भने लाइन घटेको छ । सरकारले पम्पहरुलाई कारबाही गर्न थालेपछि बुधबार सबै पम्पले बिक्री गरेका छन् ।


वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार राति मैतीदेवी पेट्रोल पम्प र सत्याल एन्ड किराना पसल टीकाभैरवलाई दुई लाख रुपैयाँका दरले जरिवाना गरेपछि बुधबार पेट्रोलियम पदार्थको वितरण सहज देखिएको छ । भण्डारण गरेर कृत्रिम अभाव सिर्जना गरकाले उनीलाई कारबाही गरिएको थियो ।

बुधबार विभागले दुईवटा पम्प र छवटा ग्यास पसलमा अनुगमन गरेको छ । अनुगमनमा सामान्य अवस्था देखिएको विभागले जनाएको छ । विभागले कुनै पनि वस्तु भण्डारण गरी कृत्रिम अभाव सिर्जना गरेमा वा तोकिएको मूल्यभन्दा बढी लिएमा ११३६ नम्बरमा फोन गरेर जानकारी दिन उपभोक्तालाई अनुरोध गरेको छ । यो समाचार आजको गोरखापत्र मा छ ।


प्रकाशित मितिः बिहीबार, चैत ६, ०७:३९