काठमाडौंः नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ ।

ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद बिक्री गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले ५० उद्योगको अनुमति खारेज गरेको हो ।

विभिन्न मितिमा अनुमति लिएका ५३ मध्ये ३ वटा उद्योगले मात्रै शर्तबमोजिमको प्रक्रिया अघि बढाएको पाइएको बताएको छ ।

अनुमति लिएका ५३ उद्योगमध्ये सैपाल ग्यास उद्योग, सगरमाथा ग्यास इन्डष्ट्रिज र सिता ग्यास उद्यागले मात्र उद्योग निर्माण गरेका छन् । यी उद्योगहरुले २०७१ पछि सञ्चालन अनुमति लिएका थिए ।


बाँकी ५० उद्योगले अनुमति अनुरुप तोकिएको समयभित्र उद्योग सञ्चालनमा ल्याउन नकसेको र अनुमतिपत्र विक्री वितरण गरेर विकृति निम्त्याएको ठहर गर्दै तिनीहरुको निर्माण र सैद्धान्तिक सहमति खारेज गरिएको जानकारी दिइएको छ ।

नयाँ तीन उद्योगले अनुमति पाएसँगै नेपालमा एलपी ग्यासको कारोबार गर्ने उद्योगको संख्या ६२ पुगेको छ ।


प्रकाशित मितिः आइतबार, वैशाख ७, १४:५९