वीरगन्जः दाइजोको विवादमा पर्सामा फेरि एक २१ बर्षीया महिलाले ज्यान गुमाएकी छिन्। पछिल्लो समयमा दाइजोकै कारण महिलाको हत्या र आत्महत्याको घटनाहरु एकपछि अर्को बाहिर आइरहेका बेला हरदासपुर की २१ वर्षीया रिंकी देवीको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले ससुरालमा रिंकुको हत्या भएको दाबी गरेका छन्।

पर्साको पर्सागढी नगरपालिका – ४ हरदासपुरका भुपेन्द्र पटेलकी श्रीमती रिंकु आइतबार बिहान घरमा मृत अवस्थामा भटिएकी हुन्। दाइजोमा दिएको खेत बेच्न रिंकुले नमान्दा उनको हत्या गरिएको भन्दै माइती पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन्।

वीरगन्ज महानगरपालिका–१६ अलौंबाट जिल्ला प्रहरी घेराउ गर्न आएका माइती पक्षले रिंकीको श्रीमान, सासु, देवर र जेठाजुले मिलेर हत्या गरेको भन्दै दोषीलाई कारवाहीको माग गरे।


निकै शंकास्पद अवस्थामा प्रहरीले शव बरामद गरेपनि प्रहरी आरोपीलाई बचाउने खेलमा लागेकाले प्रदर्शनमा उत्रिएको माइती पक्षले प्रतिक्रिया दिएका छन्।

सोमबार करिब दुई सयको संख्यामा आएका माइतीका आफन्त र गाउँलेले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै सडकमा टायर बालेर यातायात अवरुद्ध पारेका थिए। नागरिक दैनिकमा समाचार प्रकाशित छ ।