काठमाडौँ: नेपाल प्रहरीले चीनबाट ल्याइएका अनौठा जुवा सामग्रीसहित त्यसका व्यापारीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरीले टोलीले आइतबार नागार्जुन नगरपालिका–४ सीतापाइलाबाट सर्लाहीका ३६ वर्षीय निरबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीको डेराबाट डिभाइस जडित नगदसहित अन्य थुप्रै सामग्री र ९४ हजार रुपैयाँ बरामद गरेको छ । जसमध्ये एक हजारका १४ वटा नोटमा तास चिन्ने सेन्सर जडान भएको प्रहरीले जनाएको छ ।

यस्तै डिभाइस जडित एउटा पर्स, ५ वटा बेल्ट, एउटा घडी, ६ वटा चस्मा, ४ वटा चस्माका खोल, १२ वटा टिसर्ट, १६ वटा सर्ट, ३ वटा टिसर्टका बाहुला, २४ वटा रिमोट, एउटा लिड लाइट, १३५ वटा विभिन्न रंगका एयर पिस, विभिन्न रंगका ५४ वटा लेन्स र २ वटा हाते झोलासमेत बरामद गरेको प्रहरीले जनाएको छ ।


यस्ता सामग्री खेलाडीले खल्ती, कपडाका विभिन्न कुनाकाप्चा तथा पट्याइएको नोटमै पनि राख्न सक्ने र त्यो सेन्सर जडित सामानले कसलाई कुन तास परेको छ र कसले जित्दैछ भन्ने थाहा पाउन सक्ने प्रहरीले जनाएको छ।


प्रकाशित मितिः कार्तिक २५, सोमवार, १५:०१