​​​​काठमाडौं: विगत १० वर्षदेखि वैकल्पिक राजनीतिको अभियान चलाउँदै आएका नयाँ शक्ति पार्टीको प्रभावशाली नेता केशव दाहाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन्।

विवेकशील साझा पार्टीका अनुसार गएको दुई वर्षदेखि नयाँ शक्ति पार्टीमा रहेका दाहाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका हुन्। नेता दाहालले विवेकशील साझा पार्टीमा उच्च नेतृत्वमा जिम्मेवारी पाएको पनि विज्ञप्तीमा जनाइएको छ।

जति प्रयत्न गरेपनि नयाँ शक्ति पार्टीबाट वैकल्पिक राजनीतिको लक्ष्य हासिल हुनै नसक्ने निश्कर्षका साथ दाहालले डेढ साताअघि उक्त पार्टीबाट राजीनामा दिएका थिए।

नेता केशव दाहाल नेपालको प्रगतिशील, लोकतान्त्रिक आन्दोलनसँग जोडिएका विभिन्न राजनीतिक तथा सामाजिक मञ्चहरुमा करिब दुई दशकदेखि सक्रिय रहेका छन्।


उनले नेपालको लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको अभियानमा सहभागी हुँदै २० वटा भन्दा बढी मुलुकहरुमा आफ्नो राजनीतिक, सामाजिक तथा अन्य अभियानहरुको नेतृत्व गर्दै अवधारणापत्र र विचारहरु प्रस्तुत गरेका छन्।