काठमाडौंः अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

आज बंगलादेशको ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २–० ले पराजित गरेको हो ।

बंगलादेशका लागि मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले एक एक गोल गरे ।

खेलको १० औं मिनेटमा मोहमद नाबिबले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यसपछि ८० औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २–० को जित दिलाए ।

जितसँगै बंगलादेशले नेपालसँग साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला लिएको छ ।

२०७५ सालको भदौंमा ढाकामै भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो ।


फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ ।

तस्बिर: एन्फा 


प्रकाशित मितिः २०७७ साल कार्तिक २८ शुक्रबार, २०:२८