काठमाडौं : संसद् तथा प्रदेशको निर्वाचनको अन्तिम नतिजा नआउँदै वाम गठबन्धनका दुई प्रमुख साझेदार एमाले र माओवादी केन्द्रबीच खटपट सुरु भएको छ । खासगरी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार गठन, पार्टी एकिकरण मिति र प्रक्रिया, राष्ट्रप्रमुख, प्रदेश सरकारलगायतका विषयमा खटपट सुरु भएको हो।

समानुपातिकमा अग्रता कायम गर्दै प्रत्यक्षमा ८० सिट ल्याएपछि केपी ओलीको व्यवहार फरक हुन थालेको र माओवादीलाई पेल्न थालेको भन्दै प्रचण्डले आफू निकटहरुसँग गुनासो गर्न थालेका छन् । प्रत्यक्षतर्फ माओवादी केन्द्रले ३६ र कांग्रेसले २३ सिट हासिल गरेको छ ।


सरकार गठन पहिले कि पार्टी एकीकरण

सरकार गठन पहिले गर्ने कि पार्टी एकिकरण पहिले गर्ने भन्ने विषयमा ओली र प्रचण्डबीच अझै पनि समझदारी हुन सकेको छैन । ओलीले सरकार गठन स्वभाविक प्रक्रिया भएकोले पार्टी एकिकरणको बाहनामा यसलाई ढिलाइ गर्न नहुने र सरकार गठनपछि मात्र पार्टी एकीकरण गर्नुपर्ने अडान राखेका छन् । प्रचण्डले भने पहिले पार्टी एकीकरण गरेर मात्र सरकार गठन गर्नुपर्ने पक्षमा छन् । प्रचण्डले चुनावअघि नै पार्टी एकीकरण गर्न चाहान्थे र मंसिर ९ गते पार्टी गर्ने भनेर चर्चा मात्रै होइन, एमालेबाट बामदेव गौतमले समेत त्यसका लागि पहल गरेका थिए । तर अन्तिम क्षणमा केपी ओलीले त्यो प्रस्तावलाई अस्वीकार गरेका थिए। सार्वजनिक समारोहमा समेत उनले पार्टी एकीकरण चुनावपछि भन्दै प्रचण्डको मनसायलाई खण्डन गरेका थिए।

सरकार गठनपछि पार्टी एकीकरण गर्ने पक्षमा ओलीले अडान लिएपछि प्रचण्ड झस्किएका छन् । पार्टी एकीकरण गरेर एकीकृत पार्टीको अध्यक्ष आफू हुने र सरकारको नेतृत्व ओलीलाई दिने योजनाअनुसार प्रचण्ड अघि बढ्न खोजे पछि ओलीले रोक्न खोजेका छन् । सरकार गठन गरेर पार्टी एकीकरण गर्दा माओवादीले सरकारको नेतृत्व र पार्टी नेतृत्व पनि गुमाउनुपर्ने भय प्रचण्डलाई छ । ओली सरकारको नेतृत्व गर्ने र एकीकृत पार्टीको पहिलो अध्यक्ष पनि आफू नै हुने दाउमा छन् । यो रणनीति बुझेर प्रचण्ड पिरोलिएका छन् ।

राष्ट्र प्रमुखमा समेत विवाद

सरकारको नेतृत्व एमालेले गर्ने भद्र समझदारी भए पनि राष्ट्रपतिका विषयमा ठोस् सहमति भएको छैन । सरकार प्रमुख एमालेबाट भएपछि राष्ट्रपति माओवादी केन्द्रबाट हुनुपर्ने प्रस्ताव प्रचण्डले अघि सारेका छन् । यसमा ओली सकारात्मक देखिएका छैनन् । ओली माधव नेपाललाई राष्ट्रपति बनाएर सरकार र पार्टी दुवैतर्फ कब्जा गर्र्ने रणनीतिमा छन् । माधव नेपाल राष्ट्रपति नबन्ने भन्दै एकीकृत पार्टीको अध्यक्ष बन्ने चाहना राख्न थालेका छन् । यसले गर्दा प्रचण्ड थप अप्ठ्यारोमा परेका छन् ।

प्रदेश सरकार गठनमा पनि किचलो

प्रदेश सरकार गठनको विषयमा एमाले र माओवादीबीच किचलो सुरु भएको छ । दुई नम्बर प्रदेशबाहेक बाँकी छ प्रदेशमा बाम गठबन्धनको सुविधाजनक बहुमत भएपछि प्रदेश सरकार प्रमुखमा एमाले र माओवादी दुवैतर्फबाट दावी सुरु भएको छ । एमालेको बहमत भएकोले प्रदेशको मुख्यमन्त्री एमालेबाटै हुनुपर्ने पक्षमा ओली छन् । यसलाई प्रचण्ड मान्नेवला छैनन् ।

कार्यकारी राष्ट्रपतिमा पनि विवाद

माओवादी केन्द्र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मोडलमा छिटै जानुपर्ने पक्षमा छ । त्यसका लागि प्रचण्डले बाम गठबन्धनमा लबिङ गरिरहेका छन् । एमाले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा सैद्धान्तिक रुपमा सहमत भए पनि ्र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा सकारात्मक छैन । एमालेले प्रत्यक्ष निर्वाचित सरकार प्रमुखको मोडलमा जानुपर्ने प्रस्ताव अघि सार्दै आएको छ । यो विषयमा पनि प्रचण्ड र ओलीबीच खटपट सुरु भएको छ ।

वामदेवको पराजयपछि प्रचण्डलाई थप पीर

वाम गठबन्धनका मुख्य सूत्रधारका रुपमा रहेका एमालेका वरिष्ठ नेता वामदेव गौतमको पराजयले प्रचण्डमा तनाव थपिएको छ । वामदेव हारेपछि गठबन्धनको मर्म र भावनामा धक्का लाग्नसक्ने आशंका प्रचण्ड पक्षले गरेको छ । एमालेभित्र बसेर प्रचण्ड तथा माओवादीका लागि काम गर्ने नेता भनेर आरोपसमेत खेप्दै आएका वामदेवले हारेपछि ओलीसमूह प्रशन्न र ढुक्क देखिन्छ भने प्रचण्ड पक्षले क्षति महसुस गरेको छ । प्रचण्डसँगको गहिरो हिमचिमसँगै वामदेवले चुनावी अभियानमा गठबन्धन सरकारमा आफू पनि प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिन थालेपछि ओलीपक्ष त्यतिबेलादेखि झस्किएको थियो । वामदेवले हारेको विषयमा प्रचण्डले गुनासो गर्दा ओलीले खासै रेस्पोन्स नगरेपछि प्रचण्ड थप पीडामा छन् ।