काठमाडौं: राष्ट्रिय गौरबको आयोजना मानिएको अपर तामाकोशी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको आसंका गर्दै स्थानीयले अख्तियार अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन् । ९२ प्रतिशत निर्माण कार्य सम्पन्न भइ सकेको ४५६ मेगावाटको उक्त आयोजनामा अनियमितता भएको आसंकामा आवश्यक छानबिन र कारबाहीको माग राख्दै स्थानीयले  अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।

विगत ७ वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको यस आयोजनामा देखिएको बेतिथी, बढेको लागत, स्थानीयलाई निश्चित गरिएको १० प्रतिशत शेयरको न्यायोचित वितरण तथा अन्य अनियमिततामा स्थानीयले पटकपटक ध्यानाकर्षण गराउँदा समेत सम्बन्धीत पक्षले बेवास्ता गरे पछि स्थानीय आख्तियारमा उजुरी दर्ता गर्न बाध्य भएको दोलखाका एक स्थानीयले बताए ।


विधुत् प्राधिकरणको संयोजकमा रहेको अपर तामाकोशी जलविद्युत आयोजनाले स्थानीय वासीका लागि जारी गर्न लागेको सेयर पनि समयमै नआउने पक्का भएको छ । सेयर निष्काशन गर्ने र निष्काशन अनुमति दिने निकाय तामाकोशी जलविद्युत आयोजना र धितोपत्र बोर्डबीचको आरोप प्रत्यारोप बढ्दै गएपछि सेयर निश्कासनमा ढिला हुने भएको हो । आयोजनाले स्थानीयको लागि चैतको पहिलो हप्तामै सेयर निस्काशन गर्ने तयारी गरेको थियो । धितोपत्रबोर्डले ढिलाई गरेको भन्दै आयोजनाले सेयर निश्कासन गर्न आनाकानी गर्दै आएको छ ।

सेयर वितरणमा विवादित बनेको माथिल्लो तामाकोशी आयोजनाले आन्दोलनकारीको माग बमोजिम वितरण नगरिने यस अघिनै स्पष्ट पारिसकेको छ । तर, दोलखामा आन्दोलनरत पक्षले भने आयोजनाले गरेको अनियमितता छनविन गरी दोषीलाई कारबाही गर्नुपर्ने तथा जिल्ला बासीलाई निश्चित गरेको १० प्रतिशत सेयर न्यायोचित वितरण गर्नु पर्ने माग राख्दै आएका छन् ।