काठमाडौंः अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका सर्लाही हरिवन नगरपालिका–९ ठेगाना भएका सोले/कुमार भन्ने ३८ वर्षीय दुर्गा बहादुर बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

बाबुराजा रावललाई २०६५ पुस १ गते बुढाथोकी लगायत प्रल्हाद महत, बिष्णु जिसी, बङ्गुरे भन्ने बिकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, बिनोद कार्की र अनिल गुरुङ समेतको समूहले अपहरण गरी बन्धक बनाई ज्यान मार्ने धम्की दिई फिरौती बापत १ करोड ५० लाख रुपैंया लिई रावललाई पुस २ गते टोखा पुर्‍याई छोडेर फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले इलाम सूर्योदय नगरपालिका–२ पशुपतिनगर टोलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जानकारी दिए ।


साथै बानेश्वरस्थित एभरेष्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी पक्राउ परेका दुर्गा बहादुर २०६४ वैशाख २५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासत कक्षबाट ग्रील तोडी फरार रहेको तथा त्यसअघि र पछि पनि विभिन्न आपराधिक घटनाहरु समेतमा संलग्न भई फरार रहेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

प्रहरीको खोजीमा रहेका उनले आफ्नो पहिचान समेत बदली ‘प्रकाश क्षेत्री’ को नामले परिचित भई भारतको दार्जिलिङ बजारमा ‘प्रकाश स्टोर्स’ नामक कपडाको होलसेल पसल संचालन गरी बसेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको प्रहरी उपरीक्षक पाण्डेले बताए ।


प्रकाशित मितिः २०७७ साल पुस १५ गते बुधबार, २१:१३