काठमाडौंः एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग मार्फत ग्राहकहररुले आफैं मुद्दती खाता खोल्न सक्ने सुविधाको सुरु गरेको छ ।

डिजिटल बैंकिङ्गको प्रवद्र्धनका साथै आफ्ना ग्राहकहरुलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङ्गको प्रत्याभूति गराउन बैंकले यस सेवा सुरु गरेको हो ।

बैंकका ग्राहकहरुले NIC ASIA MoBank एपमा रहेको Fixed Deposit आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्नेछन् ।

यस बैंकमा ग्राहकहरुले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्ष भन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन् भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नेछन् ।


मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्नु हुने ग्राहकहरुलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले ल्याएका यो सुविधा अन्तर्गत स्वचालित पद्धतीअनुरूप ग्राहकहरुले क्षणभरमै मुद्दती खाता खोली बिना कुनै झन्झट उच्चतम ब्याजदरले भरिपूर्ण मुद्दती निक्षेपको फाइदा लिन सक्नेछन् । बैंकले हाल शाखा कार्यालयहरू तथा वेबसाइटमार्फत मुद्दती खाता खोल्ने सुविधा दिँदै आएकोमा NIC ASIA MoBank मार्फत थालनी गरिएको यस सुविधाबाट ग्राहकहरुले अझ सहज रुपमा मुद्दती खाता खोल्न सक्नेछन् ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस अनलाइन माध्यमबाट मुद्दती निक्षेपकर्ताहरूले थप सहज रुपमा सुविधा उपभोग गर्न सक्ने बैंकले विश्वास लिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १७ बुधबार, १६:१४