काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम रोक्न काठमाडौं प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको स्वीकृति अनिवार्य गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गरी जेठ २८ को मन्त्रिपरिषद्को निर्णय तथा गृह मन्त्रालयको जेठ ३० को निर्देशनबमोजिम उक्त व्यवस्था गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार काठमाडौं आउने व्यक्तिले त्यसरी स्थानीय तहको स्वीकृति लिएर आफू रहेको प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ । उक्त अनुमति प्राप्तसहित निवेदन परेपछि सो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले काठमाडौं प्रशासनमा पठाउनु पर्नेछ ।


उक्त निवेदनमाथि काठमाडौं प्रशासनले संक्रमणको जोखिम विश्लेषण र यात्रा औचित्यलाई पुष्टि हुने कागजातको समेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गरेपछि मात्रै सम्बन्धित कार्यालयले पास उपलब्ध गराउने छ ।

त्यस्तै, काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने पनि गृह मन्त्रालले निर्णय गरेको छ ।


प्रकाशित मितिः आइतबार, जेठ ३२, २०७७, १९:५७