काठमाडौं:   प्रधानमन्त्री केपी ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने र अब कसैले पनि आफु गरिब भएको महसुस गर्दै गणतन्त्र दिवस मनाउन पर्ने दिन नआउने जनाएका छन् ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै ओलीले आफ्नो सरकारले सुशासन र विकासलाई प्राथमिकता दिएको बताए ।

जनताका प्रतिनिधिले जनताका लागि शासन गर्न गणतन्त्र स्थापना भएको जनाउँदै गणतन्त्र संस्थागत, संविधान कार्यान्वयन र लोकतन्त्र सुदृढ गर्न तीनवटै तहको निर्वाचन सम्पन्न गरिसकिएको र लोकतन्त्र नेपालीका लागि कसैले सापटीमा दिएको विधि नभएर लडेर स्थापना गरेको जीवन पद्धति भएको समेत उनले  बताएका छन्  ।