काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गैरसरकारी संस्था (एनजिओ) तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ) को अनुगमन र नियमनमा कडाई गरिने बताएको छ।

गृहमन्त्रालयमा बिहीबार महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापासहित दुबै मन्त्रालयका पदधिकारीबीचको बैठकको निस्कर्षपछि पछि मन्त्री बादलले यस्तो निर्देशन दिएका हुन्।

बैठकले एनजिओ र आईएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निस्कर्ष निकाल्दै नियमनलाई तिव्रता दिने निर्णय गरेको छ।

हालको नियमनमा कमजोरी रहेको भन्दै अब जिल्ला प्रशासन कार्यालयले समेत नियमन गरी रिपोर्ट पठाउने बैठकमा निर्णय भएको छ।


पछिल्लो तीन वर्षदेखि दर्ता नविकरण नभएका एनजिओ र आईएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधीमा दर्ता नभए स्वत खारेज गर्ने समेत निर्णय भएको छ।

बैठकले ७७ वटै जिल्लाबाट ति जिल्लामा सञ्चालित एनजिओ र आईएनजिओको विवरण र गतिविधि पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

यस्तै समाजकल्याण परिषद्बाट सहमति लिएर गतिविधि गरीरहेका सबै संघसंस्थाको विवरण पठाउन परिषद्लाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

अमेरिका तथा छिमेकी भारत र चीनमा समेत एनजिओ र आईएनजिओका गतिविधिमाथि अंकुश लगाइए पनि नेपालमा भने यस्ता संघसस्था खुलेआम सञ्चालन भइरहेको निष्कर्ष बैठकले निकालेको छ।

यस्तै भ्रष्टचारमा संलग्न, राजनीतिक गतिविधिमा संलग्न हुने, धर्म प्रचार गर्नेजस्ता कार्यमा संलग्न एनजिओ र आईएनजिओको समेत दर्ता नविकरण नगर्ने निर्णय आजको बैठकले गरेको छ।