सुदर्शन आचार्य

अझै जिवित छन् जनता जसले राणाकाल, पञ्चायत, बहुदल देखि गणतन्त्रसम्म सुन्दै र भोग्दै आएका छन् । बैदेशिक हस्तक्षेप र चलखेल जुनबेला देशमा परिवर्तनको संकेत देखिन थाल्दछ तव व्यापक रुपमा चर्चाको विषय बन्छ । के विदेशी राष्ट्रहरुका लागि नेपाल चलखेल र हस्तक्षेप गर्ने वाघचाल खेलजस्तो हो र कसरी चाल्न लगाउछ त्यसरी नै चल्ने ?

वास्तवमै नेपाल केहि विदेशी शक्ति केन्द्रको प्रयोगशाला भएको छ, औषधि देखि लिएर राज्य सत्तासम्म । राज्यका प्रत्येक अधिकार वाह्य राष्ट्रका नीति र सिद्धान्तको हस्तक्षेपमा लागू गर्न खोजीएका छन् । खै स्वाधिनता ? खै निर्णयको अधिकार ? खै कालापानी र सुस्ता ? सिमा स्तम्बहरु हराईरहेका छन् ,  देशको भूमि खुम्चिदै छ, खुलेआम हस्तक्षेप भैरहेको छ ।


समय परिवर्तनशील छ, विश्वले नयाँ नयाँ खोज र आविस्कार संगै परिवर्तनशील सम्पन्न राष्ट्रको कल्पना अनुरुप देश र जनताको स्वाधिनतालाई रक्षा गरेका छन् । विश्वमा आफ्नो देश प्रभावशाली र विकसित बनाउन त्यहाँको राज्य र जनता लागी परेका छन् । विदेशी नागरिकहरुले पाएको अधिकार र सम्पन्नता संगै देशको उन्नती देख्दा लोभ लागेर आउछ । तर के गर्ने आफ्नो मातृभूमीको माया आफ्नै मनमा भएपनी राज्यसत्ताको भोग गरेका नेताको व्यवहारले खिन्नता बाहेक अरुकेही पैदा गर्न सकेको छैन ।

०६२-०६३ सालको जनआन्दोलन भाग २, पश्चात हतियारबाट राज्यसत्ता कब्जा गर्न सकिन्छ भन्ने शक्ति बिभिन्न सम्वाद र वार्ता मार्फत शान्ती प्रकृयामा आए । राजतन्त्रको अन्त्य संगै गणतन्त्र स्थापित भयो । वर्षै पिच्छे सरकारको नेतृत्व दलहरुले मिलेर बाँडे । संविधानको नाम लिएर ९ वर्षे कार्यकाल पूरा गरे तर देशको स्वधिनता र रक्षाको लागी कसैको मनसपटलमा सकरात्मक भाव पैदा हुन सकेन । अंग्रेज संगको युद्धपछि विश्वले नेपाललाई छुट्टै पहिचान बोकेको देशका रुपमा चिनिने गर्दथ्यो तर त्यो अस्तित्व अहिले कायम हुन सकेन, खुम्चिदै गयो, हराउँदै गयो । नेपाल मलेसिया, कोरीया, युएई आदि देशहरु भन्दा सम्पन्न थियो आज ति देशहरु आर्थिक उन्नती र प्रगतीको प्रयोग संगै फड्को मारीसके तर नेपाल आज तिनै आफुभन्दा कमजोर मानिएका मुलुकमा रोजगारीको लागि लाम लागेर गएका छन्, आफ्नो ज्यान फालेर मरिहत्ते गरेर काम गरेका छन् ।

देश सम्पन्न हुन सबैभन्दा प्राथमिकतामा राज्य प्रत्तिको स्वाभिमानता र आत्मावल आवश्यकता पर्दछ त्यो नेपालको कुनै पनि राज्यसत्ताले बोक्न सकेन र यस विषयमा बोल्न समेत चाहेन । छिमेकी देश भारत र चिनसँग एक अर्काका पक्षमा लाग्दा आफ्नै सत्ता र भत्ता सकिने डर सदैव कायम भयो । आफ्नो राष्ट्रको हितमा भन्दा छिमेकी मुलुकको हितमा आँच आउला भन्ने कुरामा सदैव चनाखो र होशियारी कायम भईरह्यो ।

अव देशमा संविधान निमार्ण भै सकेको छ र कार्यान्वयन पनि अन्तिम चरणमा छ । नयाँ सरकार संगै प्रादेशिक विभाजनमा राज्य संचालन हुन थालेका छन् । अबको बाटो देशको स्वाधिनता रक्षा गर्दै देशलाई सम्पन्न मूलुक बनाउने तर्फ अगाडि वढ्नु पर्दछ । छिमेकी देशसँगै सम्पूर्ण विश्वलाई नेपाल सवल र सक्षम छ भन्ने संदेश प्रवल रुपमा प्रवाह गर्न सक्नुपर्दछ, देशमा बन्द उद्योग खुलाउनु पर्दछ, वेरोजगारलाई स्वदेशमै रोजगार, गरिवलाई गाँस र विदेशिलाई नेपाल प्रति  आश देखाउन सक्नु पर्दछ । वैदेशिक नीति र सम्बन्ध सधै शक्तिशाली र स्पष्ट बनाउनु नितान्त आवश्यक छ ।