काठमाडौंः संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनमा लगाइएको रोक ६० दिनसम्म कायम रहने र ग्रीनकार्ड अर्थात्‌ स्थायी बसोबासका आकांक्षी विदेशी नागरिकका हकमा मात्रै त्यो लागु हुने बताएका छन् ।

सोमबार ट्वीट मार्फत आप्रवासन सम्बन्धी गतिविधि अस्थायी रुपमा रोक्ने घोषणा गरेका राष्ट्रपति ट्रम्पले मंगलबार यसबारे अझ प्रष्ट पारेका हुन् ।

मंगलबार रातिको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागु हुन्छ र अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागु हुँदैन ।’

कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आफ्नो प्रशासनले गरेका कामबाट ध्यान मोड्न ट्रम्पले पछिल्लो कदम चालेको आलोचकहरुले बताएका छन् ।


कोरोनाभाइरस महामारीका कारण रोजगार गुमाएका व्यक्तिहरुलाई अन्य देशबाट आएका आप्रवासीसँग प्रतिस्थापन गर्नु ‘गलत र अन्यायपूर्ण’ हुने ट्रम्पले टिप्पणी गरे ।

पछिल्ला चार हप्तामा दुई करोडभन्दा बढी अमेरिकी नागरिकले आफ्नो नाम बेरोजगारको रुपमा दर्ता गराएका छन् ।

हालसम्म अमेरिकामामा आठ लाख २० हजारभन्दा बढी कोरोनाभाइरसको संक्रमण पुष्टि भएको विश्वव्यापी रुपमा महामारीको अभिलेख राखिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

अघिल्लो महिना अमेरिकाले महामारीको कारण आप्रवासीहरु सहितका लागि प्रवेशाज्ञा दिन स्थगन गरिएको जनाएको थियो ।


प्रकाशित मितिः बुधबार, वैशाख १०, १०:४२