काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको ऐतिहासिक वार्ताको लागि उत्तर कोरियन नेता किम जोन उन आइतबार सिँगापुर पुगेका छन् ।

किम जोन उन आइतबार स्थानीयसमय अनुसार तीन बजे सिँगापुर पुगेका हुन्। उनलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले स्वागत गरेका थिए ।

उता अमेरिकी राष्ट्रपति ट्रम्प पनि शिखर बैठकका लागि त्यसतर्फ गइरहेका छन्।

यो भ्रमण सन् २०११ देखि सत्तामा रहँदै आएका उत्तर कोरियाका तेस्रो पुस्ताका नेताको लागि निकै महत्वपूर्ण तथा ठुलो भ्रमण हो । यस वर्ष किमले निकै महत्वपूर्ण भेटवार्ताहरु गरिसकेका छन् । उनले दक्षिण कोरियाका राष्ट्रपति मून जाइ–इनसँग पनि दुईपटक वार्ता गरिसकेका छन् ।


। साथै उनले चीनियाँ राष्ट्रपति सि चिनफिङलाई पनि दुईपटक भेट गरिसकेका छन् ।

अघिल्लो वर्ष मिसाइल तथा परमाणुको हतियार विस्तारमा अघि बढिरहेका उत्तर कोरियन नेता अहिले मुलुकको आर्थिक विकास तथा समृद्धितर्फ उन्मुख देखिएका छन् ।

आइतबार उनले सिँगापुरका प्रधानमन्त्री ली सेन लूङसँग भेटवार्ता गर्नेछन् । किमको सिँगापुर पुग्ने तालिकाभन्दा केही समयअघि नै किम सिँगापुर पुगेका हुन् । यो वार्ताका लागि ट्रम्प सोमबार सिँगापुर जाँदैछन् । एजेन्सी