काठमाडौंः इरानले अमेरिकी सैनिक रहेको बेस क्याम्पलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध लिने धम्की दिएको इरानले इराकमा रहेको अमेरिकै सैनिकको बेसक्याम्पमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार इरानले इराकमा रहेको अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित इरबिल र अलआसादमा एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

इरानको राष्ट्रिय टेलिभिजनले यो आक्रमण अमेरिकी हवाई आक्रमणमा मृत्यु भएका विशेष सैन्य दस्ता कुड्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्याको प्रतिशोध रहेको उल्लेख गरेको छ ।


गएको शुक्रबार इराकको राजधानी बग्दाद स्थित विमानस्थलबाट बाहिरिने क्रममा अमेरिकाले गरेको हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएको आक्रमणमा सुलेमानीको मृत्यु भएपछि रुष्ट बनेको इरानले त्यसको कठोर बदला लिने बताएको छ ।

इरानले इराकको अल–असदमा रहेको अमेरिकै सैनिकको बेसक्याम्पलाई लक्षित गरेर आक्रमण गरेको हो । सो आक्रमणमा कसैको ज्यान गए–नगएको स्पष्ट भएको छैन ।

इराकमा अमेरिकी सैन्य क्याम्पमा भएको आक्रमणबारे जानकारी रहेको र यसबारे राष्ट्रपति ट्रम्पलाई ब्रिफिङ्ग गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

इरानको रिभोलुसनरी गार्डले आफूहरुको आक्रमणमा सुलेमानीको हत्याको प्रतिशोध रहेको जनाएको छ ।

इरानले बुधबार बिहानै मिसाइल तथा रेकट प्रहार गरेको हो । मंगलबार सुलेमानीको अन्तिम संस्कार भएको थियो । त्यसको केही घण्टापछि नै इरानले अमेरिकी सैनिकका केन्द्रलाई निशाना बनाएको हो ।

अमेरिकाले गरेको हवाई आक्रमण र त्यसमा सुलेमानीको मृत्यु भएपछि इरानसँगै मध्य पूर्वमा युद्ध हुन सक्ने खतरा बढेको छ ।


प्रकाशित मितिः बुधबार २३ पौष, ०७:३७