काठमाडौंः प्रहरीले अर्घाखाँची र बझाङबाट हत्या गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

अर्घाखाँचीको आफ्नै २ वर्षीया छोरीको हत्या गरेको अभियोगमा शितगंगा नगरपालिका–२ झिर्रा बस्ने २४ वर्षीय सन्तोष घिमिरेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोही नभएको अवस्थामा घिमिरेले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी, बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ बस्ने २७ वर्षीय अमृत सिंहलाई धारिलो हतियार खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–२ बस्ने ३२ वर्षीय ज्ञान बहादुर कडायत, ३२ वर्षीय प्रकाश ऐडी र ४० वर्षीय केदारमान ऐडी रहेका छन् ।

उनीहरुले अमृतलाई खुँडा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न कडायतलाई मंगलबार तथा प्रकाश र केदारमानलाई बुधबार बिहान पक्राउ गरेको हो ।

घाइते अमृतको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १४ गते बुधबार, १२:५३