काठमाडौंः चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ ।

कोरोना भाइरस अहिलेसम्म ७० भन्दा बढी मुलुकमा फैलिएको छ । अर्थतन्त्रबारे अध्ययन–अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय निकायहरुले कोरोना भाइरसका कारण यो वर्ष विश्व अर्थतन्त्रमा करिब १.५ प्रतिशत विन्दुले कमी आउने अनुमान गरेका छन् । नेपालको अर्थतन्त्रको आकार सानो छ । तर कोरोनाबाट अतिप्रभावित चीनलगायत अन्य मुलुकसँगको व्यापारिक, आर्थिक र सामाजिक सम्बन्धका कारण नेपालको आर्थिक वृद्धिदरमा पनि असर पर्ने भएको हो ।

चालु आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धिको सरकारी लक्ष्य छ ।


। सरकारले सोचेजस्तो आर्थिक गतिविधि नबढेका कारण वृद्धिदर ६ प्रतिशत हाराहारीमा खुम्चिने अनुमान यसअघि नै गरिएको छ । कोरोनाका कारण गैरकृषि क्षेत्रमा पर्ने प्रभावले आर्थिक वृद्धिमा थप शंकुचन आउने देखिएको हो । नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा गैरकृषि क्षेत्रको अंश ७३ प्रतिशत छ ।

अर्थ मन्त्रालयका अधिकारी यो समस्या लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल पुग्ने अनुमान गर्छन् । यो वर्ष कृषि क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा रहेको धान उत्पादन घटेको छ । अन्य मौसमी कृषि उत्पादन पनि धेरै बढ्न नसकेको अवस्था छ । यस्तो अवस्थामा कोरोना समस्या लम्बिदै गए गैरकृषि क्षेत्रमा हुने गडबडीले आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल हुने दाबी उनीहरुको छ । यो समाचार आजको नागरिकमा छ ।


प्रकाशित मितिः बिहीबार, फागुन २२, ०७:२६