काठमाडौं: नयाँ बानेश्वर स्थित संघीय संसद भवनको लोत्से हलमा राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएको छ । उनीहरुले आफ्नो कार्यकालको लागि चिट्ठा आफैले तानेर कार्यकाल निर्धारण गरेका हुन् । यसै क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल मात्र २ वर्ष निर्धारण भएको छ ।

पाँच वर्षे सरकारको अर्थमन्त्रीको कार्यकाल मात्र २ वर्ष निर्धारण हुँदा हालै प्रस्तुत भएको बजेटका लामो अवधिका योजनाहरु अलपत्र पर्न सक्ने स्थिति देखिएको छ। अर्थमन्त्री खतिवडाले गत जेष्ठ १५ गते आर्थिक वर्ष २०७५/७६को बजेट घोषणा गरेका थिए। जस अन्तर्गत मन्त्री खतिवडाले लामो अवधिका योजनाहरुलाई समेत समावेश गरेका थिए ।


। तर अर्थमन्त्री खतिवडाको कार्यकाल २ वर्षमा सिमित भएपछि उक्त योजनाहरु अलपत्र पर्न सक्ने देखिएको छ ।

अर्थमन्त्री खतिवडा अर्थतन्त्रका अनुभवी व्यक्तित्व हुन् । उनी नेपाल राष्ट्र बैंकका गभर्नर समेत भैसकेको हुँदा देशको अर्थसम्बन्धी उनको राम्रो ज्ञान छ । उनले हालै प्रस्तुत गरेको बजेट लामो अवधिलाई केन्द्रित गरी ल्याएको बताइएको छ । उनी आफैले पनि यो बजेट एउटा सुरुवात हो र अब आगामी वर्षहरुको बजेटलाई त्यसै अनुसार व्यवस्थित गर्दै जाने बताएका छन् । उनले यो बजेट देख्दा राम्रो नदेखिए पनि यसको कार्यान्वयन र प्रभाव विशेष छ भन्दै आएका छन् ।

बाम सरकारले अर्थतन्त्रलाई फरक मोडेलमा लैजाने बताइरहंदा उधोग व्यवसायी तथा सर्वसाधारण अन्योलमा परेका थिए । ओली सरकारमा अर्थतन्त्र विशेष आर्किटेक्ट मानिने डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि अर्थतन्त्र ट्रयाकबाट बाहिर जाँदैन भन्नेमा ढुक्क भए । हुन त उनका केही अभिव्यक्ति र बजेटमा गरेको व्यवस्थाले शेयर बजार कमजोर अवस्थामा पुग्यो तर पनि अर्थतन्त्रका अन्य अभयवहरुलाई गिजोल्ने काम गरेनन् । प्रधानमन्त्री ओली तथा अन्य नेताहरुले लोकप्रियताका लागि अनेकौं सुविधाका कुरागरे पनि अर्थमन्त्रीले नेपालको अर्थतन्त्रले धान्न सक्ने अवस्थामा मात्रै त्यसो गर्न सकिन्छ भन्ने मान्यता अघि सारेका छन् ।

अर्थमन्त्री अर्थतन्त्रको विषयमा बढी संयमित भएपनि शक्तिशाली मन्त्रीहरु र नेताहरुको दवावले अर्थतन्त्रलाई केन्द्रिकृत मात्रै गरे भन्ने आरोप पनि दह्रो रुपमा खेपिरहेका छन् । उनले वास्तविक योजनामा बजेट व्यवस्था गर्ने बताएपनि कतिपय कमजोर योजनाका लागि बजेट छुट्याएका छन् भने कतिपय ठूला योजनाका लागि समेत अत्यन्तै कम बजेट व्यवस्थापन गरेका छन् ।

अर्थमन्त्रीको कार्यकाल दूई वर्षको मात्रै हुँदा बाम सरकारको अर्थनीतिमै प्रभाव पर्ने देखिएको छ । हुन त उनलाई पुन नियुक्ति गरिएला या अर्को कोही अर्थमन्त्री ल्याइएला तर युवराज खतिवडा मोडेल परिवर्तन भयो भने अर्थतन्त्र कम्जोर हुन पनि सक्छ ।