नेपाल तारा: हजारौँ बिरामीलाई पुनर्जन्म दिएका एक चिकित्सकले क्यान्सरसँगको छ महिना लामो लडाइँपछि मृत्युवरण गरे। ढाका टोपी पहिरिएर शान्त चिर निद्रामा निदाइरहेका एशियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा देवकोटा । नेपाल मात्र होइन दक्षिण एशियामै ख्याति कमाएका डा. उपेन्द्र देवकाटाले सोमबार अन्तिम सास फेरे।

असार ४ गते सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा साँझ ५ः३५ मा निधन भएको थियो। बाँसबारीस्थित आफ्नै न्यूरो अस्पतालको प्राङ्गणमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जलि पछि पशुपतिमा रहेको  विद्युतीय शवदाह गृहमा अन्तिम दाह संस्कार गरिएको छ ।

छ महिनाअघि रोग देखिएपछि परिवारले उनलाई अब्बल बनाएको देश बेलायत पुर्‍याएको थियो ।


। तर, जीवनका अन्तिम दिनहरु नजिकिएको पूर्व जानकारी पाइसकेका डा देवकोटा अन्तिम सास स्वेदशकै माटोमा फेर्न चाहे। गत वैशाख १५ गते पुनः स्वदेश ल्याइएपछि उनलाई आफ्नै अस्पतालमा उपचारका लागि राखियो । उनको इच्छा अनुरुप गृहजिल्ला गोरखा पुर्याइयो । आफू जन्मेको माटोमा बसेर पानी पिएपछि पुनः न्यूरो फर्काइएका देवकोटाको असार ४ गते सोमबार साँझ ५ः३५ मा निधन भयो ।

को हुन् डा. देवकोटा ?

बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा गोर्खाको पालुंटार नगरपालिका ४ मा सन् १९५४ मा जन्मिएका हुन् । उनले घरकै पाठसालामा गुरुहरुको काखमा गोरखापत्रीकाबाट क, ख सिकेका थिए । सानैबाट चलाख रहेका देवकोटामा नयाँ कुरामा वढी चासो र सिक्ने क्षमता थियो । उनी एकैपटक कक्षा २ मा भर्ना भएका थिए ।

बिद्यालयको अतिरिक्त क्रियाकलापमा पनि उनी सधैं अघी हुन्थिए। भलिबल देखी वादविवाद, वक्तृत्वकला र निबन्ध प्रतियोगितामा कहिले दोस्रो भएनन्। मेडिकल कलेज पढ्दा समेत उनलाई धेरैले भलिबल खेलाडी भनेर चिन्थे। पाठ्यक्रमबाहिरको ज्ञानमा सहपाठीभन्दा उनी निकै अगाडि थिए । देवकोटा गाउँको पुस्तकालयमा सचिव पनि भएका थिए।

७ कक्षामा पढ्दापढ्दै गाउँका ‘ठिटा’ मिलेर गाउँ सुधार समिति खोले। त्यसको विधान आफै लेखे। पालैपालो पदाधिकारी परिवर्तन हुन्थे। धारा, बाटोघाटो सफा गर्ने, गाउँमा जुवातास निषेध गर्ने अभियान चलाए।

उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेका थिए। बायोलोजीमा फस्ट डिभिजन ल्याउने ब्याच नै उनको थियो । चिकित्सक बन्ने सपना बाल्यकालदेखि कै थियो। बायोलोजीको विकल्प थिएन। आइएस्सीमा बायोलोजीमा एक नम्बरले डिस्टिङसन पुगेन ।

शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरे। त्यहाँबाट फर्किएपछि उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिष्टेन्टलाई पढाए।

अर्को वर्ष लोकसेवा पास गरेर वीर अस्पतालमा पोष्टिङ भए । पाँच वर्ष मेडिकल अफिसरको रुपमा वीरको सर्जरी विभागमा काम गरे । दुई वर्षमै उनी सर्जरी विभागमा रजिष्ट्रार भए। यसबीचमा उनी ७ महिना स्वास्थ्यमन्त्री भए। स्वास्थ्य मन्त्री रहँदा स्वास्थ्य विमा लागु गर्नुपर्छ भनेर प्रक्रिया अगाडि बढाए । सवारीसाधनमा सिटबेल्ट बाँध्ने, मोटरसाइकलमा बस्ने दुबैले हेल्मेट लगाउनुपर्छ भन्ने अवधारणा, मादक पदार्थ सेवनको जाँचलाई कडाई गर्नुपर्छ भन्ने सोच उनैको थियो । त्यतिबेला सुरु भएका अभियान अहिले आएर पुनः ताजा भइरहेका छन् ।

वीर अस्पतालमा २५ वर्ष सेवा गरेका उनी त्यसपछी बाँसबारीस्थित न्युरो हस्पिटल सञ्चालक समेत भएर बिरामीको सेवा गरिरहे।

डा देवकोटा यस्ता धरोहर हुन्, जसले सधैं डाक्टरी पेसाको स्वच्छताको वकालत गरे। मिहिनेत गरेर डाक्टर बन्नुपर्छ। इमान सम्झेर कामप्रति वफादार हुनुपर्छ। मिहिनेत र लगनले संसारको जुनसुकै ठाउँमा पुग्न सकिन्छ, नेपाली डाक्टरहरु पनि कम छैनन् भन्ने कुरा पनि संसारलाई गरेर देखाइदिए।

स्पष्टवक्ता, आत्मविश्वासले भरिएका कुशल डाक्टर र पेसाप्रति इमान्दार भएर आफूलाई अलि फरक बनाएकाले पनि उनलाई मन पराउनेहरु धेरै छन् ।

डा. देवकोटाको २०७५ साल असार ४ गते सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा साँझ ५ः३५ मा निधन भएको थियो।

उनले एमबिबिएस सकेपछि सन् १९८६ मा डा. मधु दीक्षितसँग विवाह गरेका थिए । उनका तीन छोरी छन् ।