काठमाडौँः स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएकाछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

बैठकले संघीय संसद्मा पेश भएको सरकारको आर्थिक वर्ष २०७५÷०७६ नीति तथा कार्यक्रमलाई संसद्बाट सर्वसम्मतरुपमा पारित गराउन सहयोग गर्ने सांसदहरुलाई धन्यवाद दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको सूचना प्रविधि राज्यमन्त्री एवं सरकारका प्रवक्ता बाँस्कोटाले बताए ।


बैठकले नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच श्रम समझदारीपत्रलाई नवीकरण गर्ने निर्णय गरेको छ भने श्रम नियमावली–२०७५ लाई स्वीकृत गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । रासस