कपिलवस्तुः कपिलवस्तु नगरपालिका–१० विर्तास्थित सडकबाट ८ ग्राम २ सय ३० मिलिग्राम लागूऔषध जस्तो देखिने खैरो पदार्थ सहित एक जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय बिजय पासवान रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले लु ९ प २३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक पासवानलाई ८ ग्राम २ सय ३० मिलिग्राम लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखनदेही खोला नजिकबाट १५ केजी अवैध लागूऔषध गाँजा बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।


इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ हरिवनबाट नवलपुरतर्फ आउँदै गरेको बा ३४ प ६१८९ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपछि प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, साउन ३०, २०७७, १७:११