काठमाडौंः प्रहरीले अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ ।

कास्की, मोरङ, सर्लाही र कपिलवस्तुका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–३ नदिपुर नारायणथान मन्दिरस्थित सडकबाट नियन्त्रित लागूऔषध ३५ एम्पुल नुर्फिन, ३७ एम्पुल फेनारगन र ३६ एम्पुल डाईजेपाम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय बालकृष्ण गिरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट नदिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको केराबारी गाउँपालिका–६ दाहाल चोकबाट करिब २ सय २० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २३ वर्षीय रितेश लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका–६ लालबन्दीस्थित सडकबाट करिब ३६ किलो २६ ग्राम अवैध लागूऔषध गाँजा र १ थान मोबाइल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली डाबडाँडा गाउँपालिका–१ बस्ने ३५ वर्षीय शक्ति लामा र रौतहट चन्द्रापुर नगरपालिका–१ बस्ने ४२ वर्षीय प्रेम यादब रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो वीरगञ्ज र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको संयुक्त प्रहरी टोलीले बा ८३ प ८४७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाकेचोकबाट करिब १० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित महोत्तरी जलेश्वर नगरपालिका–७ बस्ने २० वर्षीय रुपेश रायलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी फुल्जोरबाट खटिएको प्रहरीले साइकलमा राखेर घारी बथानबाट बर्दिबासतर्फ जाँदै गरेका उनलाई जाँच गर्दा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगञ्जबाट नियन्त्रित लागूऔषध ४ सय २० ट्याब्लेट नाईट्राभेट सहित शिवराज नगरपालिका–१ उमरी शिबपुर बस्ने १७ वर्षीय किशोरलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

लु २ ख ३८३४ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा आएका ती किशोरलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ३ गते शुक्रबार, १६:०९