बाराः जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित सडकबाट भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब ११ लाख ५५ हजार ६ सय ८७ रुपैयाँ बराबरको कपडा सहित एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–२१ बस्ने २२ वर्षीय छोटेलाल पटेल रहेका छन् ।

इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले वीरगञ्जबाट जितपुरतर्फ आउँदै गरेको ना २ च ६६७९ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा उक्त कपडा सहित फेला पारी गाडी चालक पटेललाई उक्त गाडी सहित पक्राउ गरेको हो ।

पटेललाई बरामद कपडा र गाडी सहित आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


यसैगरी, बाराकै निजगढ नगरपालिका–९ स्थित सडकमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब १ लाख २८ हजार रुपैयाँ बराबरको ३ सय २० किलो अलैची शनिबार प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले सर्लाहीबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश नम्बर २–०३–००१ च ४९७ नम्बरको पिकअपलाई जाँच गर्दा उक्त परिमाणको अलैची फेला पारी बरामद गरेको हो ।

बरामद अलैची तथा पिकअप गाडीलाई आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


प्रकाशित मितिः सोमबार, असोज १९, २०७७, १६:११