बाराः सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलबाट १ थान पेस्तोल, ५ राउण्ड गोली र १ थान म्याग्जिन सहित एक भारतीयलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहा रहेका छन् ।

प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहालाई शंका लागेर रोक्न खोज्दा उनले आफूले बोकेको पेस्तोलबाट एक्कासि प्रहरी टोलीलाई लक्षित गरी फायर गरेपश्चात प्रहरीले १ राउण्ड जवाफी फायर गरी उनलाई पक्राउ गरेको हो ।

पाखुरामा गोली लागेका कुशवाहाको स्थानीय मेडिकलमा उपचार भएको र अवस्था सामान्य रहेको छ ।


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ५ बुधबार, २०:३७