राजविराजः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताएका छन् ।

राजविराज विमानस्थलको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको निर्माण भएको राजविराज विमानस्थलमा असारको पहिलो सातासम्म नियमित उडान हुने बताएका हुन् ।

“यात्रु होस् नहोस्, सधैँ समयमा उडान भर्नुहोस्,” मन्त्री अधिकारीले श्री एयरलाइन्सका प्रमुख सुधिर मित्तललाई निर्देशन दिए । उनले धेरैमा चार÷पाँच महिना यस्तो समस्या आउने र त्यसपछि पर्याप्त यात्रु उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् । नियमित समयमा उडान भरेमा श्री एयरलाइन्सको रेकर्ड राम्रो बन्ने र समयमा उडान नभरे रेकर्ड खराब बन्ने उनको भनाइ थियो ।


“नेपाली एयरलाइन्समा यात्रु नभए उडान नै रद्द गर्ने बानी छ, अब राजविराज विमानस्थलमा यस्तो चल्दैन,” मन्त्री अधिकारीले भने ।

नेपाल वायु सेवा निगमले निकट भविष्यमै ६ वटा सानो जहाज किन्न लागेको र यात्रु भएमा एउटा जहाजले राजविराजबाट पनि नियमित उडान भर्ने उनले बताए । मन्त्री अधिकारीले ६ महिनाभित्र यस विमानस्थलमा तेल राख्ने गाडी पनि राखिने जानकारी दिँदै कार्गो विमानस्थलका रुपमासमेत विमानस्थलको विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुरुमा कम यात्रु भए पनि नियमित उडान भर्न श्री एयरलाइन्ससँग आग्रह गरे । राजविराजलाई भारतीय शहरसँग जोड्नका लागि सडक निर्माण गरिए तथा नियमित जहाज उडान भइरहे सप्तरीको कायापलट हुने पनि उनको विश्वास थियो ।

विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलबाट झण्डै डेढ दशकपछि बुधबार ५० सिटे श्री एयरलाइन्सको जहाजले सफल परीक्षण उडान भरेको थियो ।