काठमाडौंः उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने कुनै निर्णय नभएको बताएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजकसमेत रहेका पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताए ।

अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको उनको भनाइ छ ।

सरकारले २ सय भन्दा बढी सक्रिय केस देखिएका क्षेत्र एवम जिल्लाहरुमा सिल गर्ने लगायतका कार्य भइरहेको उनले बताए ।

लकडाउन खुकुलो भयो भन्दैमा भिडभाड गर्ने, लापरवाहीपूर्ण जीवनशैली अपनाउने र सरकारका निर्देशन पालना नगर्दा आफैंलाई असर पर्नेतर्फ सचेत हुन उनले आग्रह गरेका छन् ।


सरकारले गरेका निर्णय पूर्ण पालना नगर्दा आफैं जोखिममा पर्ने यथार्थ बुझ्न समेत उनले आग्रह गरेका छन् ।

सार्वजनिक यातायात सञ्चालन गर्न आवागमन बढ्ने र प्रत्येक सवारी साधनमा प्रहरी सुरक्षाकर्मी राखेर सञ्चालन गर्न पनि गाह्रो हुने भएकाले केही समय हेरेरमात्र ठाउँ अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी सरकारको रहेको उनले बताए ।

स्कुल, सावर्जनिक यातायात, सिनेमा, ठूला रेष्टुरेन्ट अझै पनि सञ्चालन नहुने उपप्रधानमत्री पोखरेलले बताए । उनकाअनुसार सार्वजनिक सभा समारोह पनि गर्न पाइँदैन् ।


प्रकाशित मितिः सोमबार, असार ८, २०७७, २०:५८