काठमाडौंः खुला बजार एवं उदार अर्थ व्यवस्था नियन्त्रणबाहिर गएमा त्यसले देशकै समग्र अर्थतन्त्रमा ठूलो असर पर्न जान्छ । राष्ट्र, तिनको स्तर र विश्व सञ्जालको अवस्था अनुसार त्यस्ता विकृतिले विश्वकै अर्थतन्त्र प्रभावित हुनसक्छ । सन् २००८ को विश्वका ठूला अर्थतन्त्र भएका राष्ट्रमा वित्तीय तथा बैंकमा आएको शंकटले विश्वकै अर्थतन्त्रमा प्रभाव पारयो। अहिले विश्वमै प्रभाव पार्ने त नहोला तर अस्ट्रेलियाका ठूला बैंक तथा अन्य आर्थिक कारोेबार गर्ने कम्पनीहरूले ग्राहकलाई गलत सल्लाह दिएर आर्थिक नोक्सानी पुर्‍याएको, सेवा नदिए पनि शुल्क लिएको जस्ता अनेकौं उजुरी परेका छन् ।

अस्ट्रेलिया सरकारले यस्तो अवस्थाको छानबिन गर्न गठित बैंकिङ रोयल कमिसनले यहाँका ठूला बैंक कमनवेल्थ, अस्ट्रेलिया एन्ड न्युजिल्यान्ड (एएनजेड) र नेसनल अस्ट्रेलिया बैंक (न्याब) वेस्टप्याकलगायतका आर्थिक कम्पनीहरूमाथि सुनुवाइ सुरु गरेको छ ।



ग्राहकलाई गलत आर्थिक सल्लाह दिएको र ग्राहकको मृत्यु भइसकेपछि पनि शुल्क लिएको लगायतका आरोपमाथि सो कमिसनले छानबिन गरिरहेको छ ।

अस्ट्रेलियन सञ्चारमाध्यमका अनुसार आफ्नाविरुद्ध छानबिन सुरु भएपछि अष्ट्रेलियाकै ठूलोमध्येको आर्थिक सल्लाह र योजना तथा इन्स्योरेन्स सुविधा दिने कम्पनी एएमपीका प्रमुख कार्यकारी अधिकृत क्रेग मिलरले राजीनामा दिएका छन् ।
यस्तो अवस्थामा अस्ट्रेलियाकै ठूला तथा प्रतिष्ठित बैंकहरू समस्यामा त छन् नै आम नागरिकको विश्वससमेत गुमाउने अवस्था आएको छ ।
यी बैंकहरूमा लाखौं नागरिकको सेयर स्वामित्व छ भने व्यापारीको ठूलो बचतदेखि विद्यार्थीको अति सानो बचतसमेत गर्छन् ।