भक्तपुर: शिक्षक सेवा आयोगले पटकपटक स्थगित हुँदै आएको अस्थायी शिक्षक परिक्षाको मिति तय गरेको छ । शिक्षक सेवा आयोगको बुधबार बसेको बैठकले असार २९ गते निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा हुने जनाएको छ ।

पहिले परेको आवेदनकै आधारमा यस अघि नै तोकिएका केन्द्रमा परीक्षा हुने आयोगले जनाएको छ । परीक्षाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो ।

तीन वर्गमा नौ वटा विज्ञापन भएको छ । जस मध्ये २०४९ साल पुस २० गते अघिका अस्थायी शिक्षक, सोही बर्षको पुस २१ गते पछि २०६१ साउन २१ गते सम्म नियुक्त अस्थायी शिक्षक र ०६१ साउन २२ गते देखि संविधान जारी हुनु अघिल्लो दिन सम्म नियुक्त अस्थायी शिक्षकका लागि माग गरिएको हो ।


यस अघि ४ पटक सम्म स्थगित उक्त परीक्षा पछिल्लो पटक गत चैत १३ गते परीक्षा हुन ८ दिन अघि प्रधानमन्त्रीको ठाडो निर्देशनमा स्थगित गरिएको थियो । आन्तरिक परीक्षाले नयाँलाई प्रतिष्पर्धाको ढोका बन्द गरेकोले खुला प्रतिष्पर्धाबाट शिक्षक छनोट गर्नुपर्ने भन्दै शिक्षाविद् तथा विद्यार्थीले विरोध गरेका थिए ।