काठमाडौंः नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छन् ।

गर्ल्स डबल्स फाइनलमा अभिलाषाले रसियाकी एरिना भालिटिभासँग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गरी स्वर्ण जितेकी हुन् ।

गर्ल्स सिंगल्समा भने अभिलाषा दोश्रो भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् । फाइनलमा रसियाकी एरिनाले अभिलाषालाई हराइन् ।

पाकिस्तानमा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावत दोश्रो भए । फाइनलमा नेपाली जोडी अमेरिकाका रोहन बेल्डे र एलेक्जेन्डर कर्मानसँग पछि परे ।


नोभेम्बर २३ देखि सुरु प्रतियोगितामा रसिया, स्पेन, अमेरिका, नेपाल, पाकिस्तान, ग्रेट ब्रिटेन, अस्ट्रेलिया र जापानको सहभागिता रहेको सदस्य विष्टले जानकारी गराए । सर्किट– २ सोमबारदेखि सुरु हुने छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १३ शनिबार, १८:३३