काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबाद तथा दोस्रो खेल साविक विजेता मुम्बई इन्डियन्स र किंग्स इलाभेन पञ्जावबीच प्रतिस्पर्धा हुँदैछ ।

कोलकत्ता र हैदराबादबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ भने मुम्बई र पञ्जावबीचको खेल भने साँझ ७ः४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ४ जितसहित ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ ।

यता, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद पनि चौंथो जितको खोजीमा रहेको छ ।


। हैदराबादले ८ खेलमा ६ अंक जोडेको छ र पाँचौ स्थानमा रहेको छ ।

यसै सिजनको पहिलो भेटमा कोलकत्ताले हैदराबादलाई ७ विकेटले हराएको थियो ।

यसैगरी, रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई सातौं जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ६ जित र २ हारसहित १२ अंक जोडेर मुम्बई दोस्रो स्थानमा रहेको छ ।

यता, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाब तेस्रो जितको खोजीमा हुनेछ । ८ खेलमा ४ अंक जोडेको पन्जाब पुछारमा रहेको छ ।

यसै सिजनको पहिलो भेटमा मुम्बईले पन्जाबलाई ४८ रनले हराएको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २ आइतबार, १२:३७