काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल कोलकत्ता नाइट राइडर्स र किङ्स इलाभेन पन्जाब तथा दोस्रो खेल साविक उपविजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

पन्जाब र कोलकत्ताबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ भने बैंगलोर र चेन्नईबीचको खेल भने साँझ ७ः४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता चौंथो जितको खोजीमा हुनेछ । अघिल्ला ५ खेलमा ३ जितसहित ६ अंक जोडेर कोलकत्ता चौंथो स्थानमा रहेको छ ।


यता, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाब कलकत्तालाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । पुछारमा रहेको पन्जाबले ६ खेलमा १ जित मात्र निकालेको छ ।

यसैगरी, दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई तेस्रो खोजीमा हुनेछन् । अघिल्ला ६ खेलमा चेन्नई २ जित र ४ हार व्यहोर्दै ४ अंक सहित छैटौं स्थानमा रहेको छ ।

यता, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर चेन्नईलाई हराएर शीर्ष तीनमा उक्लने लक्ष्यमा हुनेछ । बैंगलोरले अघिल्ला ५ खेलमा ३ जित र २ हार व्यहोरेको थियो । ६ अंक जोडेको बैंगलोर पाँचौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, १२:५३