काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोर र साविक उपविजेता चेन्नई सुपर किङ्स तथा दोस्रो खेल साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

बैंगलोर र चेन्नईबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ भने मुम्बई र राजस्थानबीचको खेल भने साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर चेन्नईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

बैंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।


यता, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई प्ले अफमा पुग्ने गणितीय सम्भावना कायम राख्न चाहान्छ ।

चेन्नई ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ ।

यस्तै चेन्नई अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यस अघिको भेटमा बैंगलोरले चेन्नईलाई ३७ रनले पराजित गरेको थियो ।

यसैगरी, शेख जायद क्रिकेट मैदानमा रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई आठौं जितको खोजीमा हुनेछ । अघिल्ला १० खेलमा ७ जितसहित १४ अंक जोडेको मुम्बई शीर्ष स्थानमा रहेको छ ।

यता, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान पनि जित निकाल्ने योजनामा हुनेछ । किनकी प्ले अफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब राजस्थानलाई रहेको छ ।

राजस्थान ११ खेलमा ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

राजस्थान मुम्बईसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । सिजनको पहिलो भेटमा राजस्थानलाई मुम्बईले ५७ रनले पराजित गरेको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ९ आइतबार, १४:२८