काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पञ्जावले पाँचौं जित निकालेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति भएको खेलमा पञ्जावले हैदराबादलाई १२ रनले पराजित गर्दै पाँचौं जित निकालेको हो ।

पञ्जावले दिएको १ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १४ रनमा समेटियो ।

हैदराबादका लागि कप्तान डेभिड वार्नरले ३५, विजय शंकरले २६, जोनी बेयरस्टोले १९ र मनिस पाण्डेले १५ रन बनाए ।

पञ्जावका क्रिस जोर्डन र अश्रदिप सिंहले ३/३ तथा मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले एक/एक विकेट लिए ।


यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।

पञ्जावका लागि निकोलस पुरनले अविजित ३२, कप्तान केएल राहुलले २७, क्रिस गेलले २०, मन्दिप सिंहले १७ र ग्लेन म्याक्सवेलले १२ रन बनाए ।

हैदराबादका राशिद खान, सन्दीप शर्मा र जासन होल्डरले २/२ विकेट लिए ।

जितसँगै पञ्जावले हैदराबादसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा पञ्जाव ६९ रनले पराजित भएको थियो ।

११ खेलबाट १० अंक जोडेको पञ्जाव पाँचौ स्थानमा छ । हैदराबादले ११ खेलमा ८ अंक जोडेको छ । हैदराबाद तालिकाको छैटौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ९ आइतबार, ०७:१८