काठमाडौंः भारतमा संचालन भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका खेलहरुमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ११ जनालाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुबाट सट्टाबाजीमा प्रयोग गरेका १७ थान मोबाइल, नगद २ लाख ९६ हजार रुपैयाँ, डायरी, बेटिङमा हिसाब कितावको लागि प्रयोग भएको कागजातहरु समेत बरामद भएको छ ।

पक्राउ पर्नेमा काठमाडौं बनस्थली बस्ने कैलालीको धनगढी नगरपालिका–२ घर भएका ३१ वर्षीय अशोक सिंह, काठमाडौं ठमेल बस्ने भारत बिहार घर भएका २९ वर्षीय बिक्रम कुमार जैसवाल, रौतहटको गौर नगरपालिका–१ घर भएका २८ वर्षीय राहुल कुमार जैसवाल, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–८ घर भएका ३६ वर्षीय राजु थापा, धादिङको गल्छी गाउँपालिका–२ घर भएका ३१ वर्षीय सन्तोष खतिवडा, ललितपुर महानरगपालिका जावलाखेल बस्ने भारत बिहार घर भएका ३१ वर्षीय अंकित कुमार कलवार, काठमाडौं कालिमाटी बस्ने मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ३० वर्षीय संदिप कुमार मंडल, काठमाडौं महानगरपालिका–२३ बस्ने भारत हिमान्चल प्रदेश घर भएका ४६ वर्षीय सुशील जेस्टा, काठमाडौं लाजिम्पाट बस्ने भारत राजस्थान सुजनगढ थाना घर भएका ३१ वर्षीय पवन कुमार शर्मा, भारत राजस्थान घर भएका ३० वर्षीय सुचित अग्रवाल र काठमाडौं जमल बस्ने भारत बिहार घर भएका ४० वर्षीय मुकेश जैसवाल रहेका छन् ।


भारतमा संचालन भइरहेको आईपीएल तथा प्रिमियर लिग फुटबल, लालिगा, सेरि ए लिग, युईएफए च्याम्पियन लिग लगायतका खेलहरुमा सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट अनलाइन बेटिङ गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले भारत लगायत अन्य मुलुक समेतबाट सट्टेबाजी गर्नको लागि युजर आइडी र पासवर्ड लिई कमिसनमा खेल खेलाउने, ग्राहकहरु खोज्ने, हार जित भएका व्यक्तिहरुको रकम लिने–पुर्‍याई दिने जस्ता कार्य गर्ने गरेको खुल्न आएको छ ।

उनीहरु विरुद्ध थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, ०७:३५