काठमाडौंः पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ ।

एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार संघका अनुसार दाल, गेडागुडी, तेल, चामल, आटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी पाँच रुपैयाँदेखि २०० रुपैयाँसम्म महँगो भएको छ तर सरकारका नियमनकारी निकायको बजार अनुगमन औपचारिकतामै सीमित भएको छ ।

संघका अनुसार एक महिनाको बीचमा सबैभन्दा थोरै चामल प्रतिकेजी पाँच रुपैयाँ र सबैभन्दा बढी धुलो खुर्सानी प्रतिकेजीमा २०० रुपैयाँसम्म बढेको छ ।


। मासको दाल प्रतिकेजी १४० बाट बढेर १६० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै मुसुरो दाल प्रतिकेजी १०० रुपैयाँबाट १३० रुपैयाँसम्म पुगेको छ भने नेपाली रहरको दाल प्रतिकेजी १३० रुपैयाँबाट बढेर १६५ रुपैयाँ पुगेको छ । सो अवधिमा मुग गेडा प्रतिकेजीमा १४० रुपैयाँबाट १६० रुपैयाँ, मुगको छाटा प्रतिकेजी १४० रुपैयाँबाट १९० रुपैयाँमा कारोबार भइरहेको छ भने मुगको खोस्टा (ठूलो) प्रतिकेजी १३० रुपैयाँबाट बढेर १७० रुपैयाँ पुगेको छ ।

यस्तै चामलमा प्रतिकेजी पाँचदेखि १० रुपैयाँसम्म बढेको छ भने तराई ताइचिन चिउरा प्रतिकेजी ६५ रुपैयाँबाट बढेर ८५ रुपैयाँ पुगेको छ । त्यसैगरी गेडागुडीमा बोडी प्रतिकेजी ९५ रुपैयाँबाट बढेर १३० रुपैयाँसम्म बढेको छ भने सेतो र हरियो केराउ प्रतिकेजीमा क्रमशः २० देखि ४० रुपैयाँ बढेको छ । चिनीमा प्रतिकेजी ८० रुपैयाँबाट बढेर ८५ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ भने तेलमा पनि प्रतिलिटर १० देखि ५० रुपैयाँसम्म बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित मितिः मंगलबार, पुस २२, ०७:५५