काठमाडौंः आगामी साउनबाट २० मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गर्ने भएको छ । उक्त जलविद्युत आयोजनाको ९६ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । ४ अर्ब ६२ करोड रुपैयाँ खर्च हुने अनुमानित मोदी खोला आयोजनाको  हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

२०६९ सालबाट निर्माण सुरु भएको यस आयोजनको असार तेस्रो साताबाट उपकरण परीक्षण सुरु हुने मोदी इनर्जी कम्पनीले जनाएको छ । उपकरण परीक्षण पूरा गरेर साउनबाट आयोजनाले विद्युत उत्पादन सुरु गर्ने कम्पनीको दाबी छ । आयोजनाबाट एक वर्षअघि विद्युत उत्पादन गर्ने तालिका भए पनि सुरुङमा देखिएको समस्याले निर्माण अवधि लम्बिँदा विद्युत उत्पादन सुरु गर्ने अवधि पनि एक वर्ष पछाडी धकेलिएको थियो।


आयोजनाबाट वार्षिक ११७.९९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत ४.२ किलोमिटर दुरीमा पर्ने १३२ केभी मोदी सबस्टेसनमा लगेर जोडिने छ ।