काठमाडौंः शहीद स्मारक ए डिभिजन लिग फुटबलको नयाँ सिजन आज शनिबारबाट सुरु हुँदैछ । आज दुई खेल हुँदैछ ।

घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगको खेल आज सुरु हुन लागेको हो ।

उद्घाटन खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टिमबीचको खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।

१४ क्लबले प्रतिस्पर्धा गरेको खेल फागुन ३ गते सकिने छ जसमा कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टोलीले उपाधि जित्ने छन् । यस सिजन मात्र एक क्लब रेलिगेशनमा पर्नेछ ।

लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछ ।


लिगको हरेक खेल जित्ने टिमले बोनस बापत ५० हजार पाउनेछ । बराबरी भए १५/१५ हजार हात पार्नेछ ।

यसैगरी एन्फाले क्लबलाई तयारी खर्चको लागि २०/२० लाख समेत उपलब्ध गराउने भएको छ भने प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार प्रदान गरिनेछ ।

हरेक खेलको म्यान अफ दि म्याचलाई १० हजार र फेयर प्ले टिमले १ लाख पाउने छन् ।

मनाङ प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

लिगमा सहभागी टिम

थ्रीस्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, फेण्ड्स क्लब, मच्छिन्द्र क्लब, च्यासल युवा क्लब, नेपाल पुलिस क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब, नेपाल एपिएफ, जवालखेल युथ क्लब, बिग्रेड ब्वाइज क्लब र एनआरटी

 


प्रकाशित मितिः शनिबार, मंसिर २८, ०६:२१