काठमाडौंः आजबाट अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइँदैछ ।

कोरोना भाइरस संक्रमणले सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा आजबाट फाइजर र बायोएनटेक कम्पनीले बनाएका कोरोना भाइरसविरुद्धको खोप लगाउन लागिएको हो ।

अमेरिकाले पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकलाई खोप दिन लागेको छ ।

अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा खोप लगाइने छ भने मंगलबार अरु ४२५ स्थानमा दिइनेछ ।

अमेरिकाको खाद्य तथा औषधि विभाग ‘एफडीए’ अमेरिकाले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिए लगत्तै खोप अभियान सुरु भएको हो ।


फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २९ गते सोमबार, ११:११