काठमाडौंः पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनमा आजदेखि त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा हुने प्रतियोगितामा पुरुषका सात टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

आजको पहिलो खेलमा आज महिलातर्फ न्यु डाइमण्ड स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल १० बजे सुरु हुनेछ ।

पुरुषतर्फ पहिलो दिन तीन खेल हुनेछ । पहिलो खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लबको खेल हुनेछ । दोस्रो खेल एपीएफ विरुद्ध बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।


चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७५ हजार र चौथो हुनेले ३७ हजार ५ सय पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।


प्रकाशित मितिः २०७७ साल चैत १९ गते बिहीबार, ०८:०३