काठमाडौंः आजदेखि नयाँ बर्ष विक्रम संवत् २०७८ सुरु भएको छ ।

नयाँ बर्ष २०७८ को आज पहिलो दिन वैशाख १ गते, नेपालभर एक–आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउँछन् । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्यांकन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन् ।

नयाँ वर्ष होटल, रेष्टुरेन्ट, पार्क लगायतका स्थानमा भेला भएर पनि मनाउने गरिन्छ । यस्तै, नयाँ वर्षको पहिलो दिन काठमाडौं उपत्यकाका मन्दिरहरुमा पूजा गर्नेहरु पनि उल्लेख्य देखिन्छन् ।


सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पूरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ ।

यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरेको छ ।

नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन छ ।


प्रकाशित मितिः २०७८ साल बैशाख १ गते बुधबार, ०७:३१