काठमाडौंः आजबाट पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न रोक लगाइएको छ ।

कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले आजबाट दर्शनार्थीलाई रोक लगाउने र नित्य पूजामात्रै गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो ।

पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाइएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाले जानकारी दिए ।

विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको थियो ।

सूचना थाहा नपाएका केही भक्तजन आज बिहानै मन्दिर पुगेका थिए । केही नित्य दर्शनार्थी पनि पशुपतिनाथ परिसर पुगेकामा सुरक्षाकर्मीले फर्काएपछि बाहिरबाटै दर्शन गरेर फर्केका छन् ।


कोरोना संक्रमणका कारण २०७६ चैत ११ गतेदेखि ९ महिनासम्म पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । संक्रमण केही कम भएपछि २०७७ पुस १ गतेदेखि पुनः पशुपतिनाथ मन्दिर खुल्ला गरिएको थियो ।


प्रकाशित मितिः २०७८ साल वैशाख १० गते शुक्रबार, १०:१९