भक्तपुरः आजबाट भक्तपुरमा पनि कोरोना (कोभिड–१९) विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका टोलीका समेतको सहभागितामा बिहान १० बजेर ३० मिनेटमा खोप अभियानको सुरुवात गरिएको हो ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले पहिलो खोप लगाएकी थिइन् ।

भक्तपुरका दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । चाँगुनारायण र भक्तपुर नगरपालिकाका लागि भक्तपुर अस्पताल तथा सुर्यविनायक र मध्यपुर थिमी नगरपालिकाका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

आजबाट सुरू भएको कोभिड–१९ विरुद्ध पहिलो चरणको खोप अभियान अन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप लगाइनेछ ।


उक्त खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र अग्रभागमा रहि खट्ने कर्माचारीहरुलाई पहिला लगाइने व्यवस्था गरिएको भक्तपुर अस्पतालले जनाएको छ ।

अस्पतालले खोप लगाइ सकेपछि १५ देखि २० मिनेट आराम गराउन ४ वटा शैयाको व्यवस्थापन गरेको छ भने खोपबाट केहि असर देखिएमा तत्काल उपचारका लागि आइसियु सहितको चिकित्सकको व्यवस्थापन गरेको जनाइएको छ ।

पहिलो दिन आज भक्तपुर जिल्लाभरी ८ सय देखि एक हजार जनालाई कोरोना विरुद्धको खोप दिने जनाएको छ । त्यस्तै, जिल्लाभर ४ दिनमा ३५ सय देखि ४ हजार जनाले खोप लगाउन कार्यक्रम रहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १४ गते बुधबार, १२:४१